बैंकिङ्ग समाचार, काठमाडौं ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्थाबीच मर्जरको प्रस्तावलाई अन्तिम स्वीकृती दिन दुवै लघुवित्तले साधारणसभा बोलाएका छन् । यी दुबै लघुवित्तले फागुन ३० गते साधारण सभा बोलाएका हुन् ।
डिप्रोक्स लघुवित्तको एक्काइसौँ वार्षिक साधारण सभा होटल सेभेन स्टार प्रा.लि., सौराहा, चितवनमा बिहान ११ बजे शुरु हुनेछ । त्यसैगरी, आदर्श लघुवित्तको पाँचौ वार्षिक साधारण सभा गौतम भिलेज रिर्सोट, सिनागल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरु हुनेछ ।
यी दुवैको सभाले डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने, प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्राप्ति पश्चात डिप्रोक्स लघुवित्तको नामबाट एकिकृत कारोबार गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।
यसका साथै डिप्रोक्सको सभाले १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ११.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, आदर्श लघुवित्तको सभाले २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांंश वितरण गर्ने, साधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ डिप्रोक्स लघुवित्तले फागुन १९ गते बुकक्लोज गर्ने भएको छ भने आदर्श लघुवित्तले फागुन १६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार सो दिनभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तहरुका साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया