सुदूरपश्चिम प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीविरुद्ध एक करोड आठ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार, धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेश सभा सदस्य) दीर्घ बहादुर सोडारी माथि भ्रष्टाचार गरेको मुद्दा दर्ता गरेको छ । उनले २०७४ देखि २०७९ सम्मको जाँच अवधिमा सार्वजनिक पदमा रहेर गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ । 

उनले खुद बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक बचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत,  बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी जम्मा पचासी लाख एकाउन्न हजार वैधानिक आय आर्जन गरेको देखिएको पाइएको हो ।

सोही अवधिमा व्ययतर्फ जग्गा खरिदमा भएको खर्च, घर निर्माण एवं सोही घरमा आन्तरिक सजावट खर्च,  छोरीको अध्ययन खर्च, निजको श्रीमती सञ्चालक रहेको बबि मसला उद्योगमा भएको लगानी, बीमा प्रिमियम भुक्तानी, प्रदेश सभा निर्वाचनमा भएको खर्च, छोराको विवाह खर्च, शेयर लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेत गरी एक करोड त्रियानब्बे लाख उनान्नब्बे हजार बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको आयोगले बताएको छ ।

आयोगका अनुसार समग्र आयबाट सोही अवधिको समग्र खर्च तथा लगानी घटाउँदा क करोड आठ लाख अठतीस हजार बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको हुँदा उनले सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैर कानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले हो ।