बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्नो ११ औं वार्षिक साधारण सभा डाकेको छ । सञ्चालक समितीको फाुगन २ गते बसेको बैठकले फागुन २९ गते अग्रवाल भवन काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा डाकेको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले अन्य उपयुक्त लघुवित्तलाई एक्वायर गर्ने सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरलाई सर्वसाधारण शेयर समूहमा परिणत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया