बैंकिङ्ग समाचार, काठमाडौं ।
अपि पावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गरेकाले आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
अपि पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १४ गते साधारण सभा बोलाएको छ । सभा बोनश्वर ब्याक्वेट थापागाउँ काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १८ गते साधारण सभा बोलाएको छ । सभा बाँकेको बैजनाथ-१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेमा उक्त दिन बिहान १० बजे सुरु हुने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया