युवाहरुलाई आफ्नै देशमा सम्भावना खोज्न महासंघ अध्यक्ष ढकालको आग्रह


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाहरूलाई आफ्‌नै देशमा सम्भावना खोज्न आग्रह गरेका छन् । शुक्रवारदेखि देखि काठमाडौंमा सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले नेपाल सम्भावना नै सम्भावनाको देश रहेकोले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएका हरूलाई लगानीको लागि बैंक तथा वित्तीय संस्थाहरू र अन्य सहकार्यका लागि साझेदारहरू रहेको बताए। म भन्छु ,नेपालमा जति सम्भावना अन्त कतै छैन । इमानदारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावनाहरू रहेका छन् । ती सम्भावनाहरू उजागर गर्न सक्नु पर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नु पर्दछ ।’ उनले भने ।

युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कुल जनसङ्ख्याको ठुलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू ऊर्जा, जोस, सृजनशीलता र नवीन सोचले भरिपूर्ण रहेकोले जेसीजले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकाससँगसँगै उद्यमशीलताको क्षेत्रमा पनि अगाडी बढाउँदै लैजानु पर्ने बताए ।

उनले युवाहरूको नेतृत्व विकास तथा सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने नेपाल जेसीजको प्रयास अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै नवप्रवर्तन, उद्यमशीलतामार्फत नेपाललाई समृद्ध, आत्मनिर्भर र गतिशील राष्ट्र बनाउन दिशामा काम गर्न युवाहरूलाई आग्रह गरे ।