बैंकिङ्ग समाचार, काठमाडौं ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अर्थात् मंगलवार अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा विक्री गरेको हो । कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर विक्री गर्न अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गरेको हो ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ विक्री पछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ सार्वजनिक निष्कासनमा ल्याउनेछ । सर्वसाधारणमा फागुन ११ गतेदेखि आईपीओ विक्री गर्ने मिति कम्पनीले तय गरेको छ । सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
सर्वसाधारणमा आईपीओ विक्री खुला हुने मिति छिटोमा फागुन १५ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि फागुन २५ गतेसम्म विक्री लम्बिने मिति तय भएको छ ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया