बैंकिङ्ग समाचार, काठमाडौं ।
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षमा ५० दशमलव १४ प्रतिशत घटेको छ । कम्पनीले गत आर्थिक वर्षमा १४ लाख ७० हजार नाफा कमाएकोमा चालू आर्थिक वर्षमा ७ लाख ३३ हजारमा सिमित भएको हो ।
चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । दोस्रो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४.५० प्रतिशत घटेर ९० लाख ४३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९४ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.५४ प्रतिशत घटेर १ करोड २३ लाख ९१ हजार रुपैयाँ र सञ्चालन नाफा ३२.६८ प्रतिशत घटेर ११ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४७.८६ प्रतिशत बढेर २ करोड ७ लाख रुपैयाँ, जगेडा कोष १२६.९५ प्रतिशत बढेर १ करोड ७२ लाख ६२ हजार रुपैयाँ, सापटी ६.६५ प्रतिशत घटेर १० करोड ७२ लाख रुपैयाँ, निक्षेप १९.२३ प्रतिशत बढेर १५ करोड ५२ लाख ७५ हजार रुपैयाँ र कर्जा ८.६० प्रतिशत बढेर २८ करोड ४० लाख २१ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी आम्दानी १३ रुपैयाँ ९२ पैसा घटेर ७ रुपैयाँ ८ पैसामा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ९८.८८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा रहेको छ ।
प्रतिक्रिया