ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट भएसँगै किसान लघुवित्तको नाफा ९६.५०% घट्यो

ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट भएसँगै किसान लघुवित्तको नाफा ९६.५०% घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार संस्थाको नाफा ९६.५० प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.५० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण खुद नाफामा असर गरेको हो । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३३.९८ प्रतिशतले घटेर ११ करोड ५६ लाख १६ हजार रुपैयाँमा सिमित भएको छ । जबकी संस्थाले गत आर्थिक वर्षको सोही अवधिमा १७ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यसैगरी यस अवधिमा संस्थाको सञ्चालन नाफा १६४.०८ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा ६ करोड ५४ लाख २९ हजार रुपैयाँ सञ्चालन नाफा रहेको कम्पनीको सञ्चालन नाफा चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा घटेर ४ करोड १९ लाख २६ हजार रुपैयाँमा झरेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २२ रुपैयाँ ३७ पैसा घटेर ०.६७ रुपैयाँमा झरेको छ । दोस्रो त्रैमाससम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १ हजार ३१७.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ७२ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ५.१४ प्रतिशत घटेको छ । सो अवधिमा लघुवित्तको सापटी ७.२७ प्रतिशत घटेको छ भने निक्षेप ११.९० प्रतिशत र कर्जा ०.१८ प्रतिशत बढेको छ ।