गृहमन्त्री विवादमा तानिएपछि संसदमा प्रतिपक्ष हाबि, बजेट भाषण चूनौतीपूर्ण बन्ने


काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिपछि प्रतिनीधि सभाको बैठक अस्तव्यस्त बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन विभागको सेटिङ्गमार्फत लाखौं रकम असुलेर भिजिट भिसामामार्फत युवालाई विदेश पठाउने गिरोहको सूचीमा गृहमन्त्री लेखकको नाम जोडिएपछि प्रतिपक्षीले संसद अवरुद्ध गरेपछि बैठक अस्तव्यस्त बनेको हो ।

गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सबै प्रतिपक्षी संसदमा एक ढिक्का बनेका छन् । यससँगै, आज बोलाइएको प्रतिनिधि सभाको बैठक नै प्रभावित बनेको छ । आज उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची थियो ।

तर, प्रतिपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिनेगरी अवरुद्ध गरे । यससँगै, यही जेठ १५ गते प्रस्तुत हुनुपर्ने बजेटको कार्यसूची समेत प्रभावित बन्ने जोखिम बढेको छ । बजेट भाषणअघि प्रस्तुत गर्नुपर्ने आर्थिक सर्वेक्षणमा समेत अवरुद्ध गरेपछि बजेट भाषण समेत प्रभावित हुने आँकलन गरिएको छ ।

जसकारण, आगामी आर्थिक वर्षको बजेट भाषण प्रभावित बन्ने जोखिम बढेको छ । तर, प्रतिपक्षीले संसद अवरुद्ध गरेर गृहमन्त्रीको राजीनामा मागिरहेपनि सत्तापक्ष दल भने टसमस भएका छैनन् । उनीहरुले गृहमन्त्री लेखकले राजीनामा नदिनुपर्ने अडान राखिरहेका छन् ।

तर, राजनीतिक मुद्धाका कारण बजेट भाषण प्रभावित बन्ने र यसले अर्थतन्त्रको विकासमा समस्या उत्पन्न गर्ने जोखिम बढेको छ । गत वर्षको बजेट भाषणमा पनि संसद अवरुद्ध भएको थियो । जबकी, सत्तापक्ष दलले अवरुद्धकै बीचमा बजेट भाषण गरेका थिए । यसपटक पनि चूनौतीपूर्ण भएपनि दुई तिहाईसहितको सरकारले पेलेरै बजेट ल्याउन सक्ने आँकलन गरिएको छ ।