बैंकिङ्ग समाचार, काठमाडौं ।
शुभम पावर लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता शेयरसमेत सर्वसाधारणमा थप गरी विक्री गर्न लागिएको छ । स्थानीयमा वितरण हुन नसकेको शेयरसमेत थप हुँदा सर्वसाधारणमा निष्काशनका लागि कुल ५ लाख ८० हजार ५८० कित्ता शेयर छुट्याएको छ । कुल कित्ता शेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा र ५ प्रतिशत सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीमा ५८ हजार ५८ कित्ता र सामूहिक लगानी कोषमा २९ हजार ३० कित्ता शेयर वितरण गरिएको हो । अब ११ हजार ६१० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री हुनेछ ।
कम्पनीको आईपीओमा आवेदन गर्ने अवधि माघ २२ गतेसम्म तोकिएको छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा फागुन ३ गतेसम्मका लागि विक्री अवधि लम्बिने बताइएको छ ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म खरीद माग गर्दै आवेदन दिन सक्नेछन् । आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया