काठमाडौं – नेपालमा घट्ने वित्तीय अपराधका घटनामा विदेशीको संलग्नता बढेसँगै चिनियाँ र भारतीयको संलग्नता समेत बढ्न थालेको छ । नेपालमा बसेर आर्थिक र वित्तीय अपराध गर्ने विदेशीको संख्या निरन्तर उकालो लागिरहेको छ । अझै कोरोना महामारीपछि यो तथ्यांक ह्वात्तै बढिरहेको नेपाल प्रहरीको तथ्यांक छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार विदेशीहरूले नेपालमा आएर चोरी, जुवा वा सट्टेबाजी, अवैध मुद्रा तथा रकम कारोबार, ठगी, बैंकिङ्ग कसुर, चिठ्ठा, भन्सार छली जस्ता आपराधिक कार्यहरू गर्ने गरेको पाइन्छ । नेपालमा आएर वित्तीय अपराध गर्ने विदेशीहरूको संख्यामा आधाभन्दा बढी संलग्न भारतीय र चिनियाँ नागरिकहरू हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
त्यस्तै, अन्य विभिन्न २५ वटा देशका नागरिकहरूले आर्थिक अपराधमा सहभागी भएको प्रहरीले जनाएको छ । जसले गर्दा नेपालमा हुने वित्तीय अपराधहरूका घटना झनै बढेको पाइएको हो । नेपाल प्रहरीका प्रवक्ता रमेश थापाका अनुसार नेपालमा बसेर आर्थिक वा वित्तीय अपराध गर्नेहरूको संख्या बढ्दै जान थालेको छ । ‘अपराधको स्वरूप हेरेर त्यसै अनुरूपको अनुसन्धान गरी उनीहरूको नागरिकता बरामद गरेर कारबाही प्रक्रिया अगि बढाउँदै आएका छौँ,’ थापाले भने । स्वदेशी अपराधी र विदेशी अपराधीलाई कसुर अनुसार नै एउटै किसिमको कारबाही गर्ने गरिएको उनी बताउँछन् ।
आर्थिक वर्ष २०७६/२०७७ बाट चालु आवसम्ममा आइपुग्दा यस्ता आपराधिक घटनाहरूमा कमी हुने अवस्था देखिएको छैन । आव २०७६/२०७७ मा नेपालमा आएर वित्तीय अपराध गर्नेहरू २६ जना पक्राउ परेका थिए । जसमा चीन र भारतबाट नेपाल आएर आर्थिक अपराध गर्ने १० जना मात्र पक्राउ परेका थिए । त्यस्तै, आव २०७७/२०७८ मा वित्तीय अपराधमा ८ जना संलग्न विदेशी पक्राउ परेका थिए ।
त्यसमा भारत र चीनका वित्तीय अपराधीहरू पक्राउ २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । कोरोनापछि नेपाल आएर वित्तीय अपराध गर्ने ५८ जना विदेशीहरू पक्राउ परेका थिए । जसमा ३१ जना भारत र चीनका अपराधी रहेका थिए । त्यस्तै, यहाँ आएर आव २०७९/२०८० मा ७८ जना विदेशीहरूले वित्तीय अपराधका कार्यमा संलग्न भएका थिए भने त्यसमा ४६ जना भारत र चीनका नागरिकहरू रहेका थिए ।
गत आव २०८०/२०८१ मा आर्थिक अपराधमा १३९ जना विदेशीहरूले वित्तीय अपराधका कार्यमा संलग्न भएका थिए । त्यसमा ९१ जना भारत र चीनका अपराधीहरू रहेका छन् । यस आवको चैतसम्ममा ८३ जना जना विदेशीहरूले वित्तीय अपराधका कार्यमा संलग्न भएका थिए भने त्यसमा ६३ जना भारतीय नागरिक रहेका प्रहरीको तथ्यांक छ ।



About Us
प्रतिक्रिया