नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज माघ १६ गते, सोमबार २ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सले भोली अर्थात माघ १७ गते बुकक्लोज गर्ने भएसँगै यि दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउनुका साथै यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेरुडे लघुवित्तले माघ २८ गते उद्योग संगठन मोरङ्गको सभाहल विराटनगरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा डाकेको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर वा प्राप्ती गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यसैगरी, शिखर इन्स्योरेन्सले माघ २५ गते, बुधबार आफ्नो केन्द्रिय कार्यालय शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे १७ औँ तथा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन सम्बन्धि र प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिबारे बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी दिने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।