आत्मनिर्भर लघुवित्तको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला

आत्मनिर्भर लघुवित्तको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला


बैंकिङ्ग समाचार, काठमाडौं ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो चरण अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज अर्थात माघ १६ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कुल कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गर्नेछ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउने छ । 

सर्वसाधारणमा निष्कासन गरिने कुल कित्ता आईपीओमध्ये माघ १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा विक्री गर्न लागेको हो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले फागुन १ गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ विक्री पछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ सार्वजनिक निष्कासनमा ल्याउनेछ । सर्वसाधारणमा फागुन ११ गतेदेखि आईपीओ विक्री गर्ने मिति कम्पनीले तय गरेको छ ।

यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।