बैंकिङ्ग समाचार ।
प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएका छन् । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता भएपछि उनीहरुले विना कुनै झनझट ऋण पाउने भएका हुन । बिहीबार भएको सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन शुरुआत गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतले बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा कार्यक्रम शुरुआत गरिएको जानकारी दिए। राउतले अब वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकेर रोजगारमा जान आग्रह समेत गरे। यसअघि एसबिआइ बैंकले कर्जाको शुभारम्भ गरेको थियो।
प्रभु बैंकले सो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराउनेछ। सिरहा, धनुषा र महोत्तरीमा एसबिआइ बैंकले सेवा दिने जनाइएको छ। ती बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउँमा बचत खाता खोली दिने र राहदानी लिइ श्रम सम्झौतापछि बैंकमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ।






About Us
प्रतिक्रिया