दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम बढेर ४ अर्ब नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साताको कारोबारको पहिलो दिन आज सोमबार दोहारो अंकको गिरावट भएको छ । आज नेप्से १३.७१ अंकले घटेर २ हजार १ सय ६५ दशमलव १० बिन्दुमा बन्द भएको छ । पछिल्लो साताको बिहिबार नेप्से ५.७१ अंकले बढेर २ हजार १ सय ७८ दशमलव ८१ बिन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने वृद्धि भको छ । आज नेप्सेमा ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ४१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ । जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआइसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्स कम्पनी रहेका छन् । यि सबै कम्पनीहरुको शेयरमुल्य सर्किट लेभलमा बढेका छन् ।

आज हिमालयन हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यसको आज २७ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ ।