नेप्सेमा आज समान्य अंकको गिरावट, कारोबार रकम भने उच्च वृद्धि भइ ५ अर्ब नजिक

नेप्सेमा आज समान्य अंकको गिरावट, कारोबार रकम भने उच्च वृद्धि भइ ५ अर्ब नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिजो उच्च अंकको वृद्धि भएको शेयर बजार आज बुधबार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०१ अंकले घटेर २ हजार १ सय ७३ दशमलव १० बिन्दुमा बन्द भएको छ । हिजो नेप्से ३२.७२ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ११ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ८० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२१ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज ५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यि कम्पनीहरु पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रो, हिमालय उर्जा विकास कम्पनी, ग्रिन भेञ्चर लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी रहेका छन् ।

आज साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ३५ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ ।