बैंकिङ्ग समाचार, काठमाडौं ।
युनियन लाइफ इन्स्योरेन्सले पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको बैठकले माघ २६ गते बिहीबार साधारण सभा बोलाएको हो । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०ः३० बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको सभाले आर्थिक वर्षको २०७७/७८ को नाफाबाट शेयरधनीलाई प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ । कम्पनीले २०७७/७८ को नाफाबाट शेयरधनीलाई ८.९७५ प्रतिशत बोनस लाभांश प्रस्ताव गरेको छ । त्यस्तै सभाले कम्पनीको शेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहतर्फ परिवर्तन गरी संस्थापक र सर्वसाधारण शेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्तावसमेत पारित गर्नेछ । हाल कम्पनीको शेयर अनुपात ७०ः३० रहेको छ । साथै सभाले गुराँस र प्राइम लाइफसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुक क्लोज गर्ने भएको छ । यसका आधारमा माघ १५ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । मर्जर प्रक्रियामा रहेको यस कम्पनीको शेयर कारोबार हाल रोक्का रहेको छ ।
प्रतिक्रिया