पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष बमसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कालिकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मण बहादुर बम, उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूले कर्णाली प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरि निर्माणको लागि बजेट आएको बजेट अनियमितता गरेका थिए ।

उक्त फेरि निर्माणको लागि प्रदेश सरकारले ७५ लाख ५६ हजार प्राप्त भएको थियो ।  निर्माण कार्य सम्पन्न नगरी सम्पन्न भएको देखाएको, विनियोजित बजेट अनुसारको कार्य सम्पन्न नै नभएको अवस्थामा झुट्टा विल भरपाई तयार गरेको, सार्वजनिक संस्थालाई हानि पुर्‍याउने बदनियतले मनासिब कारण बिना निर्माण कार्य नै नगरेको भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार गरी कम काम भएकोमा बढी काम भएको देखाएको आयोगले जनाएको छ । 

उनीहरूले काम नै सम्पन्न नभएको आयोजनाको भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार गरी कम काम भएकोमा बढी काम भएको देखाई २५ लाख रुपैयाँ गैर कानुनी रूपमा उपभोक्ता समितिलाई भुक्तानी दिएका थिए ।