बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु इन्स्योरेन्स लिमिटेडसँगको मर्जर सम्झौता भंग गरेर अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ । नेपाल बीमा प्राधिकरण(बीमा समिति)ले पुँजी वृद्धि गर्न निर्देशन दिएपछि अजोड र प्रभु इन्स्योरेन्सले असार ३२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
प्रभुसँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । पुस २६ गते अपराह्न प्रभु इन्स्योरेन्ससँगको मर्जर सम्झौता भंग भएपछि अजोड इन्स्योरेन्सले सोही दिन राति युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको हो । प्रभु र अजोड इन्स्योरेन्सलाई मर्जर प्रक्रिया अन्त्य गर्न नियामक निकाय बीमा प्राधिकरणले सहमति दिएपश्चात अजोडले यूनाइटेडसँग मर्जर सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी दावाले हस्ताक्षर गरेका हुन् । मर्जर पश्चात युनाइटेड र अजोडबीच स्वाप रेसियो १००:९० हुने प्रारम्भिक सहमति भएको छ । यस्तै, मर्जर पछि बन्ने नयाँ कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।
नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम आगामी चैतमा अजोड इन्स्योरेन्सले रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्नेछ । हाल अजोड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव नगरी पुस ३० गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।
हाल रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार चुक्तापूँजी रहेको युनाइटेड इन्स्योरेन्सले भने यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजीमा रू. ५ करोड १४ लाख ८ हजार थप हुनेछ ।
प्रतिक्रिया