बैंकिङ्ग समाचार, काठमाडौं ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेकोे हो ।
कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशतका दरको रू. ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको हो । त्यस्तै २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि, १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि र ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्कासन गरिएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने १० प्रतिशत शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ भने २ दशमलव ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र २ दशमलव ५ प्रतिशत सिद्धिचरण नगरपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ ।
दुवै समूहका लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयका लागि विक्री अवधि छिटोमा माघ ३ गतेका लागि तय गरिएको छ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने स्थानीयले ढिलो अवधि माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत स्थानीयसँगै वैदेशिक रोजगारमा रहेको नेपालीहरूले समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।
कम्पनीले ओखलढुङ्गा जिल्लामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत् उत्पादन गर्दै आएको छ । यस आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू. २० करोडभन्दा बढी रहेको छ भने आयोजनाको कुल अनुमानित लागत रू. १ अर्ब ४५ करोडभन्दा बढी छ ।



About Us
प्रतिक्रिया