कोभिड महामारीबाट तङ्ग्रिदै पर्यटन व्यवसाय

कोभिड महामारीबाट तङ्ग्रिदै पर्यटन व्यवसाय


भावना अवस्थी, काठमाडौ ।
विश्वव्यापी कोभिड महामारीबाट थला परेको पर्यटन क्षेत्रमा बिस्तारै सुधार हुँदै गएको छ । सन् २०२२ सुरु भएयता पर्यटकको आगमन पनि बढेको देखिन्छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई पर्यटनको मुख्य सिजन मानिन्छ र हालसम्मको पर्यटक आगमन र मुख्य सिजनको सुरुवातसँगै पर्यटन व्यवसायीहरू उत्साहित देखिन्छन् । यस वर्ष हवाई मार्गबाट करिब ६ लाख र स्थल मार्गबाट करिब १२ लाख पर्यटक भित्रिने नेपाल पर्यटन बोर्डको आङ्कलन छ ।
अध्यागमन विभागका अनुसार २०२२ नोबेम्बरसम्ममा नेपालमा हवाई मार्गबाट ३ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । स्थल मार्गबाट आउने पर्यटकको यकिन तथ्याङ्क भने छैन ।

विगत केही वर्ष यताको पर्यटन विभागको तथ्याङ्क अनुसार भने २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सञ्चालन गरिएको नेपाल भ्रमण वर्ष २०२० सुरुवाती चरणमै स्थगित हुन पुग्यो । नेपाल भ्रमण वर्षका लागि राज्यले लगानी गरे तापनि त्यसको प्रतिफल लिन सकेन ।

कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा निकै असर पर्‍यो । सन् २०२० मा जम्मा २ लाख ३० हजार पर्यटक नेपाल भित्रिएको तथ्याङ्क अध्यागमन विभागले देखाउँछ । यो अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले कम हो । त्यसैगरी सन् २०२१ मा जम्मा एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल आएको देखिन्छ । 

बन्दाबन्दीको घोषणाले सडक तथा हवाई यातायात आवातजावतका क्षेत्रमा समेत असर पर्दा होटेल, रेस्टुरेन्ट, हाइकिङ, ट्रेकिङ, पर्वतारोहण तथा अन्य साहसिक पर्यटनमा समेत अवरोध हुँदा विषेश त अघिल्लो दुई वर्षको तुलनामा सन् २०१९ मा विदेशी पर्यटक आगमनमा २.१ प्रतिशतले बढेकोमा सन् २०२० मा यस्तो आगमन ८०.८ प्रतिशतले घटेको पर्यटन विभागको अध्ययन प्रतिवेदनले देखाउछ । तुलनात्मक रूपमा अघिल्लो वर्षमा भन्दा यो वर्पमा मात्रै ८० प्रतिशतले यो संख्यामा कमी आएको छ । 

अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्र हो पर्यटन क्षेत्र । प्राकृतिक एवं सांस्कृतिक सम्पदा र विविधताको कारण यस क्षेत्रमा तुलनात्मक लाभ रहेको छ । पर्यटन प्रर्वधनको माध्यमबाट रोजगारीका अवसर वृद्धि, गरिबी निवारण र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न यस क्षेत्रको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । 

नेपाली अर्थतन्त्रको एउटा बलियो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रमा भएको यो नोक्सानीको असर सिंगो अर्थतन्त्रमा परेको छ । सन् २०१९ को अन्यतिर सुरु भएको विश्वव्यापी कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो । मानिसहरू एक ठाउँबाट अर्का ठाउँमा जान प्रतिबन्ध भएपछि पर्यटनको विकास ठप्प नै भयो । व्यापार, मनोरञ्जन, अध्ययन, अनुसन्धानका लागि पर्यटकको रूपमा घुमफिर गर्ने मानिसहरू सीमित भूगोलमा थुनिए । जसले गर्दा नेपाली अर्थतन्त्रको एउटा बलियो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रमा भएको यो नोक्सानीको असर सिंगो अर्थतन्त्रमा परेको छ ।

चुनौतीहरू
पर्यटन विकासमा स्थानीय सरकारहरूले व्यवस्थापकीय, नीतिगत र कानुनी व्यवस्था गरी जिम्मेवारी र स्वामित्व सिर्जना गर्न सक्नुलाई चुनौतीको रुपमा बुझ्न सकिन्छ ।
सबै पर्यटकीय स्थलहरूमा सूचना प्रविधिको विस्तार र आधुनिक प्रविधिको पहुँच पु¥याउनु, जलवायु परिवर्तनबाट सिर्जना भएका जोखिमहरूको न्यूनीकरण गर्नु, कोभिड बाट पर्न गएको मूलतः आर्थिक क्षति र व्यावसायिक नोक्सानीलाई द्रुत गतिमा न्यूनीकरण गरी पर्यटनको पुनरुत्थान गर्नुजस्ता विविध चुनौतीहरू रहेका छन् ।

पर्यटनको भविष्य
नेपाल पर्यटनको हिसाबले संसारका उत्कृष्ट गन्तव्यहरूमध्येमा पर्दछ । महामारीका कारण सीमित भूगोलमा थुनिएका मानिसहरू घुम्न निस्कने बेला नेपालले यस क्षेत्रलाई व्यवस्थित गर्न सक्नुपर्दछ । पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी बढाउनुपर्दछ । सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्दछ । 

नेपालका पर्यटकीय सम्भावना भएका धेरै स्थानहरू अझै चर्चामा आउन सकेका छैनन् । ती स्थल, सम्पदाहरूको खोजीनिती गरी प्रचारमा ल्याउनुपर्दछ । पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि राज्यले लगानी बढाउन आवश्यक छ ।
स्थानीय सरकारले आ–आफ्नो भूभागमा रहेका पर्यटकीय सम्भावना भएका स्थल, धार्मिक, सांस्कृतिक सम्पदाहरूको खोजी गर्दै प्रचारमा ल्याउने कामको सुरुवात गर्नु आवश्यक देखिन्छ  । नेपालमा बाह्य पर्यटकलाई मात्र बढी महत्व दिएकोमा आन्तरिक पर्यटकहरूप्रति पनि ध्यान दिन आवश्यक छ । अब कोरोना महामारी पछिका आउँदा दिनहरूमा आन्तरिक पर्यटकहरूलाई पनि बाह्य पर्यटकहरूलाई जस्तै महत्व दिनुपर्छ ।