नयाँ सरकार गठन भएसँगै नेप्सेमा आयो उछाल, कारोबार रकम दुई अर्ब नाघ्यो

नयाँ सरकार गठन भएसँगै नेप्सेमा आयो उछाल, कारोबार रकम दुई अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साताको कारोबारको पहिलो दिन आज सोमबार उच्च अंकले बढेको छ । नयाँ सरकार गठनसंगै शेयर बजारमा उछाल आएको हो ।   

आज नेप्से ५६.८६ अंकले बढेर १ हजार ९ सय २४ दशमलब ०७ विन्दुमा बन्द भएको हो ।  त्यस्तै, आज कारोबार रकम पनि २ अर्ब नाघेको छ । आज नेप्सेमा २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये २०३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४ वटा कम्पनीको शेयरमूल्य घटेको छ, एउटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने १० वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।  

आज नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।  

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज २० करोड ८८ लाख भन्दा बढीको कारोबार भएको छ ।