नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस १ गते, शुक्रबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन प्रभु बैंक र चिलिमे जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रभु बैंकले पुस १ गते बुकक्लोज गरेको हो भने चिलिमेले पुस ४ गते बुकक्लोज गर्नेछ । यस अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यी कम्पनीका शेयरधनीहरुले यी कम्पनीहरुका साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस दिन नेप्सेले प्रभु बैंकको ६.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात बैंकको शेयरमूल्य १८९ रुपैयाँ ५८ पैसा कायम भएको छ । त्यसैगरी, यस दिन नेप्सेले चिलिमेको ७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयरमूलय ३६२ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन प्रभु बैंकको शेयर प्रतिकित्ता २०१ रुपैयाँ ९० पैसामा र चिलिमेको ३९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

प्रभु बैंकले हाल कायम चुक्ता पूँजीबाट ६.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश पारित गर्न बैंकले पुस १४ गते, बिहीबार एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ ।

यसका साथै सभाले प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ बराबर १ अनुपात अर्थात सेञ्चुरी बैंकको १०० कित्ता बराबर प्रभु बैंकको १०० कित्ता शेयर अनुपातमा एक्वायर गर्ने, एक्विजिशन प्रयोजनार्थ भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने लगायतका विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

चिलिमे जलविद्युत कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५ प्रतिशत नगद लाभांश रहेको छ । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २२ गते २६ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

यहि समायोजित मूल्यका आधारमा आइतबार यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ ।