सर्वोच्चले हेर्न भ्याएन गभर्नरको विवादबारे परेको ‘रिट’, १८औं गभर्नर नियुक्ती झनै पेचिलो


काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीविरुद्ध परेको ‘रिट’ हेर्न नभ्याइने सूचीमा परेको छ । दुई जना अधिवक्ताहरुले सर्वोच्च अदालतमा सरकारले डा. गुणकर भट्टलाई गभर्नर बनाउन लागेको भन्दै रोक्न ‘रिट’ दायर गरेका थिए । यही ‘रिट’ आज हेर्न नभ्याइने सूचीमा परेको हो ।

अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए । शुक्रबार नै डा. भट्टले कार्यकारी निर्देशकको पदबाट कार्यवाहक गभर्नर डा. नीलम ढुंगानालाई राजिनामा बुझाएका थिए । डा. भट्टले राजीनामा बुझाएपछि उनै भट्ट गभर्नर बन्न लागेको अड्कल पुष्टि भएको थियो ।

डा. भट्टलाई गभर्नर बन्नबाट रोक्ने लक्ष्यसहित परेको ‘रिट’को पेसी न्यायधीसद्वय हरिप्रसाद फुयाँल र नित्यनान्द पाण्डेको बेञ्चमा परेको थियो । आजका लागि यो पेसी अन्तिम सूचीमा राखिएको थियो । यहीकारण, हेर्न नभ्याइने भएको हो । सरकारले गभर्नर नियुक्त गर्न नसकेसँगै यो विषय झनै गिजोलिँदै गइरहेको छ ।

चैत २४ गते नै नियुक्त गर्नुपर्ने गभर्नर वैशाख ७ वितिसक्दा समेत नियुक्त हुन सकेका छैनन् । गभर्नर नियुक्ती गर्ने विषयमा नेपाल राष्ट्र बैंकको इतिहासमा आजसम्म यस्तो विवादित बनेको थिएन । सर्वोच्चमा मात्रै गभर्नर नियुक्तीको विषयमा दुई वटा विवाद पुगिसकेका छन् ।