बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन भोलि 

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन भोलि 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन भोलि सोमवारसम्म रहेको छ । आवेदकले भोलि सोमवार अर्थात् मङ्सिर २६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन् ।

सिडिएस क्लियरिङ्गका अनुसार आइतवार बिहान १०ः१० बजे सम्ममा ८ लाख ५९ हजार ७७१ जना आवेदकले ९९ लाख ३८ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । यो आईपीओमा सर्वसाधारणलाई माग गरिएकोभन्दा १९ दशमलव २९ गुणा बढी आवेदन परिसकेको छ । 

कम्पनीले पहिलो चरणमा मङ्सिर २१ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको हो ।  ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । यीबाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

आवेदकले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दै इक्रा एनपी इस्युअर रेटिङ बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथैै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सकिनेछ । 

यस कम्पनीले बागलुङमा निर्मित १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजनाबाट कम्पनीले २०७४ असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष २०७७÷७८ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी रू. ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. ६४ दशमलव ९७ छ ।