माया खोला हाइड्रोको आईपीओ आजबाट स्थानिय र बिदेशमा रहेका नेपालीलाई विक्री खुला

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आजबाट विक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १२ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गरेको हो । 

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३, ४ र ५ का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

त्यस्तै प्रभावित क्षेत्रको रूपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडाबाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । २ लाख ४० हजार कित्ता शेयर भने श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकमा विक्री खुला गरेको कम्पनीले जानकारी दिएको छ ।

स्थानीयमा निष्कासन गरिएको शेयर छिटोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा गएको नेपाली नागरिकले भने पुस ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । 

स्थानीयले आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल विक्री प्रबन्धक छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले विक्री प्रबन्धकसँगै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा गएकाले नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले संखुवासभामा १४ दशमलव ९ मायाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।