बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेडले आज अर्थात मंसिर १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्नेछ । त्यसैगरी,कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणकोलागि निष्काशन गर्दैछ । जुन निष्काशनको १० प्रतिशत हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
वैदेशिक रोजगारमा रहेकाहरुले मंसिर २८ गतेभित्र कम्पनीको आईपीओका लागि आवेदन दिनु पर्नेछ । स्थानिय बासिन्दाहरुले पनि सो दिनसम्ममा आवेदन दिनु पर्नेछ। यद्यपि, पूर्ण आवेदन नपरेमा भने स्थानिय बासिन्दाहरुका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्बिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीय बासिन्दाहरूले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालय तथा मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै https://localipo.nabilinvest.com.np मा गई आफ्नो विवरणहरु भरी आवश्यक कागजातहरु समावेश गरी आवेदन दिन सक्नेछन् ।
वैदेशिक राेजगारमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया