साञ्जेन जलविद्युत् कम्पनीको आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह-बिक्री प्रबन्धक सनराइज क्यापिटलद्वारा मंगलवार कम्पनीको आईपीओ स्थानीयमा बाँडफाँट गरिएको हो ।

कम्पनीले भदौ ५ गतेदेखि असोज ३० गतेसम्म आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरूको लागि प्रतिशेयर रू. १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र कुल २८ हजार ६०८ जना आवेदकहरूबाट ५६ लाख ७९ हजार ८७० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकको भनाइ छ । रीतपूर्वक आवेदन दिने आवेदकहरूमा सम्पूर्ण कित्ता शेयर बाँडफाँट गरिएको छ । 

कम्पनीले रसुवा जिल्लाको आयोजना अति प्रभावित आमाछोदिङमो गाउँपालिका-५ (साविक चिलिमे गाविस), आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका-४ गोजुङ (साविक गोल्जुङ गाविस) र सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका वडा १, २ र ३ (साविक गल्ताङ गाविस र हाकु गाविस) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूका लागि आईपीओ विक्री गरी बाँडफाँट गरेको छ ।

यस कम्पनीमा संस्थापकतर्फ चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरणसहित रसुवा जिल्लाका तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिहरूको लगानी रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्नुअघि सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेको छ । 

कम्पनीले १५ प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा कम्पनीले १० प्रतिशत शेयर विक्री गरेको हो । स्थानीयमा शेयर विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६५ करोड कायम भएको छ ।