महिला सशक्तीकरणमा नबिल बैंकको प्रतिबद्धता, मार्च महिनामा देशव्यापी ७ कार्यक्रम सम्पन्न


काठमाडौं – नबिल बैंकले महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, लैङ्गिक समानता र समावेशिताको प्रवर्द्धन गर्ने उद्देश्यले मार्च महिनाभर देशव्यापी रूपमा ७ वटा विशेष कार्यक्रम सम्पन्न गरेको छ । सोही अन्तर्गत सोमबार काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न भएको छ । बैंकका स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरूको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर सिर्जनाका लागि बैंक प्रतिबद्ध रहेको बताए ।

उनले बैंकिङ्ग क्षेत्रमा महिलाहरूका लागि अझै पनि केही चुनौतीहरू रहेको उल्लेख गर्दै महिला नेतृत्व प्रवर्द्धन गर्न नबिल बैंकले विभिन्न पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ। जब कार्यस्थल समावेशी बन्छ, तब सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।’

उनले विश्वव्यापी रूपमा समेत महिलाहरूलाई कम पारिश्रमिक दिने प्रवृत्ति परिवर्तन हुँदै गएको उल्लेख गर्दै भने, ‘कार्यस्थलमा महिलामाथि हिंसाका घटना भइरहेका छन्, यी समस्याहरू समाधान गर्न नेपालले पहिचान गरिसकेको छ । नबिल बैंकले पनि महिलाहरूलाई उच्च नेतृत्वमा ल्याउन र अवसर प्रदान गर्न प्रतिबद्धता जनाएको छ ।’

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ्ग क्षेत्रमा महिलाहरूको नेतृत्वमा सहभागिता बढाउनु अपरिहार्य रहेको बताए । उनले भने, ‘बैंकिङ्ग क्षेत्रमा महिलाहरूको संख्यात्मक प्रतिनिधित्व बढाउन जरुरी छ । महिलाहरू तथ्यपरक सोच्ने, काममा बढी केन्द्रित हुने र सुशासनमा पनि बढी सक्षम रहेको देखिन्छ । बैंकिङ क्षेत्रमा उनीहरूको सहभागिता बढाउन यस प्रकारका कार्यक्रमहरू महत्त्वपूर्ण छन् ।’

ज्ञवालीले बैंकिङ्ग क्षेत्रमा महिलाहरूको संख्यात्मक वृद्धिलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने आवश्यकता रहेको बताउँदै भने, ‘महिलाहरूलाई कार्यस्थलमा टिकाइराख्न चुनौतीहरू छन् । घर र कार्यालयका जिम्मेवारीका कारण बीचबाटोमै अल्झिनुपर्ने अवस्था आउँछ। त्यसैले कार्यस्थललाई अझ समावेशी बनाउन जरुरी छ ।’

कार्यक्रममा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले महिलाहरूको सहभागिता समाजको आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताउँदै, संस्कृति परिवर्तनमार्फत महिला सशक्तीकरण आवश्यक रहेकोमा जोड दिइन् ।

उनले भनिन्, ‘महिलाहरूका लागि खेलकुद, बैंकिङ्ग वा कुनै पनि क्षेत्रमा दिगो भविष्य निर्माण गर्न केवल अवसर मात्र पर्याप्त हुँदैन । यसका लागि संस्कृतिमा परिवर्तन आवश्यक छ । हामीले सानै उमेरदेखि किशोरीहरूमा लगानी गर्नुपर्छ र उनीहरूलाई आफ्नो इच्छाहरू पछ्याउन प्रोत्साहित गर्नुपर्छ ।’ उनले थपिन्, ‘महिलाहरूको सहभागिताले सीप, विज्ञता, नयाँ दृष्टिकोण, सोच र सहकार्यलाई बल पुर्याउनेछ । महिलाहरूको सशक्तीकरणमा पुरुषहरूको भूमिका पनि महत्त्वपूर्ण छ । कार्यस्थलमा महिलाहरूको स्थान सुरक्षित बनाउन सबै पक्षले ध्यान दिनुपर्छ ।