पिपुल्स हाइड्रोपावरको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

पिपुल्स हाइड्रोपावरको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज ३० गते) अन्तिम दिन रहेका छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको हो । यो आईपीओ विक्रीको लागि छिटो अवधि असोज १४ गतेसम्म तोकिएको थियो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि असोज ३० गतेसम्मको मिति तय गरिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रू. ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ स्थानीयमा वितरण गर्न लागेको हो । कुल कित्ता आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका (तत्कालीन ढोढेनी र फलेनी गाविस) का वडा नं. ६ र ७ का स्थानिय बासिन्दाका लागि ३० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिने सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यसका साथै ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्स्टेन्सन काउण्टर, एनएमबि बैंकको भोटेओडार शाखा, सिद्धार्थ बैंकको बेंसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट समेत भौतिक रुपमा आवेदन दिन सकिने व्यवस्था रहेको छ । आयोजना प्रभावित स्थानीयले आस्बा सेवामार्फत आवेदन दिन नसकिने जानकारी कम्पनीले दिएको छ ।