काठमाडौं – बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । सोही क्रममा केन्द्रीय बैंकले आज फागुन २१ गते बैंकिङ्ग प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
यो २१ दिने निक्षेप संकलन उपकरणको चैत १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । फागुन लागेपछि केन्द्रीय बैंकले यो छैठाैँ पटक तरलता खिच्ने भएको हो । यसअघि फागुन ४ गते र ६ गते ४०/४० अर्ब रुपैयाँ र ११ गते ३० अर्ब रुपैयाँ तरलता खिचेको थियो । त्यस्तै, १३ गते र १८ गते २५ अर्ब रुपैयाँ नै खिचेको थियो ।



About Us
प्रतिक्रिया