राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ४ अर्ब लगानी गर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ४ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएकाे हाे ।

केन्द्रीय बैंकले कुल रकममध्ये ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ वाणिज्य बैंकमा, ६० करोड ११ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी २० करोड ३ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गर्ने भएकाे छ । इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले फागुन २० गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप सन् २०२५ मार्च १२ देखि सन् २०२६ मार्च १२ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको, न्युनतम पुँजीकोष कायम भएको, निष्कृय कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको लगायतका सर्त पुरा गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।