मौद्रिक नीति समीक्षाको प्रभाव साताकाे शेयरमा, नेप्से ७१ अंकले बढ्दा ४३ अर्बको कारोबार 


काठमाडौं –  यो साताको शेयर बजारमा केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको प्रभाव देखियो । मंगलबार साँझ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाको प्रभाव परेसँगै बुधबार र बिहीबार शेयर बजारमा उछाल आयो । मौद्रिक नीतिको समिक्षा मार्फत् बैंक–वित्तीय संस्थाका मुनाफा वृद्धि गर्न सहयोग पुग्ने नयाँ प्रावधान लागू भएपछि विशेषगरी वाणिज्य बैंक समूहमा वृद्धि देखियो । यसले यसले समग्र नेप्से सूचकमा उत्कृष्ट वृद्धि ल्यायो ।

यो साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११ दशमलव ६६ अंकले बढेर २,७५५ दशमलव ४० को बिन्दुमा पुग्यो । त्यसदिन शेयर बजारमा ११ अर्ब ५४ करोड माथिको शेयर कारोबार भयो ।आइतबार बढेकाे बजार साेमबार पनि बढ्याे त्यसदिन नेप्से ३ दशलमव ३५ अंकले बढेर बजार २,७५८ दशमलव ८८ काे बिन्दुमा बन्द भयाे । साेमबार ११ अर्ब ८ करोड माथिको शेयर कारोबार भएकाे थियाे ।

आइतबार र सोमबार बढेको बजार मंगलबार पनि बढ्यो । त्यसदिन नेप्से ७ दशमलव १३ अंकले बढेसँगै बजार २,७६५ दशमलव ८८ को बिन्दुमा रोकियो । मंगलबार ९ अर्ब ८० करोड रूपैयाँ माथिको शेयर कारोबार भयो ।

बुधबार सार्वजनिक बिदा रहेकाले शेयर बजार बन्द भयाे । बिहीबार माैद्रिक नीतिकाे समिक्षा पछि खुलेकाे बजारमा उछाल छायाे। बिहीबार ५० अंकको हाराहारीमा नेप्सेमा वृद्धि देखियो । त्यसदिन नेप्से ४९ दशमलव १५ अंकले बढेसँगै २,८१५ दशमलव ०४ को विन्दुमा रोकियो। बिहीबार ११ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार भयो ।

गत साताकाे बिहीबार नेप्सेमा परिसूचकमा ३ दशमलव १४ अंको वृद्धि देखिएसँगै २७ सय ४३ दशमलव ७४ को बिन्दुमा रोकिएकाे बजार याे साता २,८१५ दशमलव ०४ को बिन्दुमा रोकियो । याे साता समग्रमा नेप्से परिसूचकमा ७१ दशमलव ३ अंककाे वृद्धि देखियाे । याे साता समग्रमा ४३ अर्ब ८१ कराेड रूपैयाँ माथिकाे शेयर काराेबार भयाे । गत साता नेप्से ६५ दशमलव २७ अंकले बढ्दा ३८ अर्ब ५६ करोड रुपैयाँकाे काराेबार भएकाे थियाे ।