नेपाल पे टाइमकाे लाइसेन्स नवीकरण भएन, लेनदेन बाँकी भए ३० दिनभित्र सम्पर्क गर्न आग्रह


काठमाडौं – केन्द्रीय बैंकले नेपाल पे टाइम प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगर्ने भएकाे छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार एक सूचना जारी गर्दै उक्त अनुमतिपत्र नवीकरण नगरिएको जानकारी दिएकाे हाे ।

संस्थाले लामो समयदेखि सेवा बन्द राख्नु, भुक्तानी सेवाका लागि आवश्यक वालेट एप प्ले स्टोर र एप स्टोरमा उपलब्ध नहुनु, संस्थागत सुशासन कमजोर देखिनु तथा राष्ट्र बैंकका निर्देशनहरू पालना नगरेकाले लाइसेन्स नवीकरण नगरिएकाे केन्द्रीय बैंकले जनाएकाे छ । केन्द्रीय बैंकले संस्थालाई २०७६ भदौ १९ मा अनुमतिपत्र दिएकाे थियाे ।

राष्ट्र बैंकले भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा १३(४) बमोजिम उक्त अनुमतिपत्र नवीकरण नगरिएको स्पष्ट बताएकाे छ । साथै, नेपाल पे टाइमले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूले संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए, सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।