काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र निजी क्षेत्रलाई आशयपत्र (एलओआई) दिने तयारी भइरहेको बताएका छन्। बुधबार मन्त्रालयमा आयोजित पछिल्लो ६ महिनाको प्रगति समीक्षा कार्यक्रममा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत् उत्पादन, प्रसारण, बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढाइएको जानकारी दिए। प्राकृतिक विपद्का कारण ऊर्जा पूर्वाधारमा क्षति पुगे पनि सेवा पुनःस्थापना र विकास निर्माणका कामलाई निरन्तरता दिइएको उनले बताए।
विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रियालाई राष्ट्रिय आवश्यकता र प्रणालीको मागअनुसार अघि बढाउन वैज्ञानिक तथा वस्तुनिष्ठ मापदण्ड तयार गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए। प्रस्तावित मापदण्डमा सुख्खायामको साँझको उच्च माग पूरा गर्न सक्ने उत्पादन क्षमता, सुख्खायाममा ऊर्जा योगदान, मासिक उत्पादनको स्थिरता, प्रसारण पूर्वाधारको उपलब्धता र आयोजनाको व्यावसायिक उत्पादन सुरु हुने मितिसम्म विद्युत् निकासी सुनिश्चित हुने अवस्थालाई प्राथमिकता दिइनेछ।
२७ जलविद्युत् आयोजनाको आरसीओडी थप
समीक्षा अवधिमा निर्माणको अन्तिम चरणमा रहेका २७ जलविद्युत् आयोजनाको कुल ५४०.४७ मेगावाट क्षमताका लागि व्यावसायिक उत्पादन सुरु हुने मिति (आरसीओडी) थप गरिएको छ। ऊर्जा क्षेत्रमा रोकिएको लगानी अघि बढाउने, निजी क्षेत्रको सहभागिताका लागि आधार तयार गर्ने, प्रसारण पूर्वाधार विस्तार गर्ने र सिँचाइ आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने प्रयास गरिएको मन्त्री श्रेष्ठले बताए।
नेपाल–भारतबीच विद्युत् आयात क्षमता १ हजार मेगावाटबाट बढाएर १ हजार ४०० मेगावाट र निर्यात क्षमता १ हजार १०० मेगावाटबाट बढाएर १ हजार ६५० मेगावाट पुर्याउने सहमति भएको उनले जानकारी दिए। सीमापार प्रसारण पूर्वाधार विस्तार, खुला पहुँच र पारदर्शी प्रसारण शुल्क निर्धारणमार्फत विद्युत् व्यापारको आधार सुदृढ गर्ने काम अघि बढाइएको छ।
प्रसारण पूर्वाधार विस्तारमा तीव्रता
लामो समयदेखि अवरुद्ध हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको हेटौँडा क्षेत्रमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने बाह्रबिसे र नयाँ खिम्ती सबस्टेसन निर्माण पूरा गरी आंशिक सञ्चालनमा ल्याइएको छ। त्यसैगरी, मस्र्याङ्दी करिडोरअन्तर्गत मार्कीचोक–भरतपुर २२० केभी तथा ढल्केबर–बालगङ्गा १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ।
लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन र सम्बन्धित सबस्टेसन पनि सञ्चालनमा आएका छन्। कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षतिग्रस्त खण्डमा आपत्कालीन पुनःस्थापना प्रणाली जडान गरिएको छ। बालकोट र दहचोक सबस्टेसन तथा चन्द्रपुर–सुखदेवचोक र लहान–सुखिपुर प्रसारण लाइनको निर्माण पनि सुरु गरिएको छ। चालु आर्थिक वर्षभित्र थप १२ वटा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित समयतालिका बनाएर काम अघि बढाइएको मन्त्री श्रेष्ठले बताए। मधेसमा ग्रामीण विद्युतीकरण तथा कर्णालीमा पूर्ण विद्युतीकरणका लागि वितरण लाइन विस्तारको प्रक्रिया पनि अघि बढाइएको छ।
सिँचाइ सुविधा विस्तार, राष्ट्रिय गौरवका आयोजना प्राथमिकतामा
सिँचाइतर्फ राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्ययोजना बनाएर कार्यान्वयन अघि बढाइएको छ।सिक्टा सिँचाइ आयोजनामा थप १३ किलोमिटर नहर निर्माण गरी १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। आयोजनाका २७ बोलपत्रमध्ये ११ वटामा ठेक्का सम्झौता भई निर्माण सुरु भएको छ। महाकाली सिँचाइ आयोजनामा थप १ हजार १५५ हेक्टर, बड्कापथमा ६१० हेक्टर, बबईमा ६०० हेक्टर र रानी जमरा कुलरियामा १५० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए।
सिँचाइतर्फ राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्ययोजना बनाएर कार्यान्वयन अघि बढाइएको छ।सिक्टा सिँचाइ आयोजनामा थप १३ किलोमिटर नहर निर्माण गरी १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। आयोजनाका २७ बोलपत्रमध्ये ११ वटामा ठेक्का सम्झौता भई निर्माण सुरु भएको छ। महाकाली सिँचाइ आयोजनामा थप १ हजार १५५ हेक्टर, बड्कापथमा ६१० हेक्टर, बबईमा ६०० हेक्टर र रानी जमरा कुलरियामा १५० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए।
बबई सिँचाइ र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई आगामी दुई आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाएर काम भइरहेको छ। भेरी–बबई आयोजनाका प्रमुख ठेक्काबीच समन्वय गरी एकीकृत कार्यतालिका तयार गरिएको छ। सुनकोशी मरिण डाइभर्सन आयोजनाको सिभिल निर्माणका लागि पुनः बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कन सम्पन्न गरिएको छ। हाल आर्थिक प्रस्ताव मूल्याङ्कन भइरहेको र ठेक्का सम्झौता छिट्टै गर्ने अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताए। सिँचाइ प्रणालीको व्यवस्थापन सुधार गर्न रानी जमरा कुलरिया र राजापुरमा टेलिमेट्री प्रविधिमार्फत वास्तविक समयको जलप्रवाह अनुगमन सुरु गरिएको छ। संयुक्त व्यवस्थापनमा सञ्चालित सिँचाइ प्रणालीबाट करिब २ लाख ३३ हजार हेक्टर खेतीयोग्य जमिनमा नियमित सिँचाइ सेवा पुर्याइएको छ।
कानुनी सुधार र नवीकरणीय ऊर्जामा जोड
ऊर्जा क्षेत्रको संस्थागत तथा कानुनी सुधारका क्रममा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ भने जलस्रोतसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पेस गरिएको छ। विद्युत् र सिँचाइ विधेयकका मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव लिने प्रक्रिया अघि बढाइएको छ। विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०८३ तथा राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणना मापदण्ड, २०८३ जारी गरिएको छ। विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका तयार गरिएको छ। जलाशययुक्त जलविद्युत् आयोजनाको अनुमतिपत्र अवधि ५० वर्ष कायम गर्न विद्युत् नियमावली, २०५० संशोधनको तयारी पनि अघि बढाइएको छ। ग्रामीण क्षेत्रमा विद्युत् पहुँच विस्तार गर्न लघु तथा साना जलविद्युत्बाट ६९३ किलोवाट र सौर्य मिनिग्रिडबाट ८४१ किलोवाट विद्युत् उत्पादन गरिएको छ। विभिन्न संस्थामा १८ हजार ५७५.३० किलोवाट क्षमताका रूफटप सौर्य प्रणाली जडान भएका छन्। कृषि क्षेत्रमा ऊर्जा उपयोग बढाउन ३१५ वटा सौर्य सिँचाइ पम्प जडान गरिएको छ।
विपद्पछिको पुनःस्थापना र राहतलाई प्राथमिकता
मन्त्री श्रेष्ठले बाढी तथा अन्य प्राकृतिक विपद्का कारण ऊर्जा पूर्वाधारमा क्षति पुगे पनि विद्युत् सेवा पुनःस्थापना र प्रभावित क्षेत्रका नागरिकलाई राहत उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको बताए। बाढीका कारण राष्ट्रिय प्रसारण प्रणालीमा गम्भीर असर परे पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिकको प्रयासले देशभर विद्युत् आपूर्ति प्रभावित हुन नपाएको उनले उल्लेख गरे। गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीपछि सम्पर्कविहीन भएका प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई राहत वितरण सुरु गरिएको छ। हालसम्म ६ परिवारले राहत पाएका छन्। प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार प्रत्येक परिवारलाई तत्काल ५ लाख रुपैयाँ र ६ महिनासम्म सम्बन्धित कर्मचारीको पदको सुरु तलबको आधा रकम उपलब्ध गराइनेछ।
बाढी पूर्वानुमान अवधि पाँच दिन पुर्याइयो
जलवायुजन्य जोखिम न्यूनीकरणका लागि प्रमुख नदीमा बाढी पूर्वानुमान अवधि तीन दिनबाट बढाएर पाँच दिन पुर्याइएको छ। साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान अवधि २४ घण्टाबाट बढाएर ४८ घण्टा कायम गरिएको छ। प्रभावमा आधारित मौसम पूर्वानुमान सेवा १५ स्थानीय तहमा लागू गरिएको छ भने थप १६ स्थानीय तहमा परीक्षण भइरहेको छ। मन्त्री श्रेष्ठका अनुसार पछिल्लो ६ महिनामा ऊर्जा उत्पादन तथा व्यापारको विस्तार, प्रसारण पूर्वाधार निर्माण, सिँचाइ सुविधा वृद्धि, कानुनी सुधार र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको छ। आगामी दिनमा यी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै ऊर्जा क्षेत्रलाई आर्थिक विकास र कृषि उत्पादन वृद्धिको प्रमुख आधार बनाउने लक्ष्य लिइएको छ।






About Us
प्रतिक्रिया