घट्न थाल्यो बैंकिङ्ग निक्षेप, कर्जा प्रवाह एकैदिन ४ अर्बले बढ्यो

'सिडी रेसियो ७९ दशमलव ५६ प्रतिशत'


काठमाडाैं- पछिल्लाे समय केन्द्रीय बैंककाे तथ्यांकले बैंकिङ्ग निक्षेप घटेको देखाएको छ । केन्द्रीय बैंककाे फागुन ४ र ५ गतेकाे तथ्यांकले बैंकिङ्ग निक्षेपमा गिरावटसँगै कर्जा प्रवाहमा सुधार भएको देखाएको छ । नेपाल राष्ट्र बैंकको फागुन ५ गतेकाे तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । त्यसकाे अघिल्लो दिन अर्थात् ४ गते ६७ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

त्यस्तै, सो अवधिमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि गिरावट आएको छ । फागुन ४ गते ६ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले ५ गते ६ खर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेका छन् । सो अवधिमा निक्षेप घटेसँगै कर्जा प्रवाहमा भने सुधार देखिएको छ । फागुन ४ गते ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब ४२ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरूकाे कर्जा प्रवाहमा पनि ३ अर्ब रुपैयाँको वृद्धि देखिएको छ । ४ गते ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ५ गते बढेर ४८ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ५६ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।