काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २२ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज मध्यान्ह ३ बजेसम्म अनलाइन आवदेन दिन सक्नेछन् । पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएको तर ,निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रिरहेको छ ।
समीक्षा अवधिमा सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) जम्मा ७९.५३ प्रतिशत मात्र कायम छ । यसले गर्दा पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्सरिपोमार्फत निरन्तर तरलता प्रशोचन गरिरहेको छ । बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार फागुन १ गतेसम्म बैंकहरुको निक्षेपको आकार ६७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ भने यता कर्जा लगानी जम्मा ५४ खर्ब ३९ अर्ब रुपैयाँ बराबर मात्र हुन सकेको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो २२ दिने निक्षेप संकलन उपकरणको फागुन २८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले फागुन लागेपछि याे दाेस्राे पटक तरलता खिच्न लागेकाे हाे । यसअगाडि फागुन ४ गते पनि ४० अर्ब रूपैयाँ तरलता खिचेकाे थियाे ।



About Us
प्रतिक्रिया