काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १४ निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब २५ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले मुनाफामा ५९.३८ प्रतिशतले भारी गिरावट आएको छ । गत आवको सोही अवधिमा कम्पनीहरुले तीन अर्ब नौ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
चालु आवको पुष मसान्तसम्मको अवधिमा राष्ट्रिय बीमा कम्पनीको खुद नाफा १८.८६ प्रतिशतले घटेर ४२ करोड ७२ लाख रुपैयाँबाट ३४ करोड ६६ लाख रुपैयाँमा सीमित बनेको छ ।
निर्जीवन बीमा कम्पनीहरुमध्ये गत आवको तुलनामा सानिमा जिआइसी इन्स्योरेन्सको मुनाफा सबैभन्दा बढी अंकले बृद्धि भएको छ । यस कम्पनीको खुद नाफा १५.२५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको खुद नाफा २५ करोड ७३ लाख रुपैयाँ आर्जन गरको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २२ करोड ५० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ करोड ५९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १५ करोड ६० लाख रुपैयाँ मुनाफा रहेको छ ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १४ करोड ३० लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १२ करोड १६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १२ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको आठ करोड ६० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको सात करोड ४५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको छ करोड ९६ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छ करोड ५८ लाख रुपैयाँ मुनाफा रहेको छ ।
निर्जीवन बीमा कम्पनीहरुमध्ये द ओरियण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था दयनीय बन्न पुगेको छ । जसमा ओरियण्टल इन्स्योरेन्स १९ करोड ७५ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स ३६ करोड ९८ लाख रुपैयाँ नोक्सानीमा रहेका छन् ।





About Us
प्रतिक्रिया