पिपुल्स पावरको आइपीओ आज दिउँसो बाँडफाँड हुने

पिपुल्स पावरको आइपीओ आज दिउँसो बाँडफाँड हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
पिपुल्स पावर लिमिटेडको आइपीओ आज आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीले आइपीओ प्रि अलोटमेन्टको काम सम्पन्न गरी आज दिउँसो बाँडफाँड हुने गरी तयारी गरेको जनाएको छ ।

प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिने व्यवस्था थियो ।

सिडिएससी बाट प्राप्त जानकारी अनुसार भदौ ५ गतेसम्ममा १३ लाख ८९ हजार ९ सय ८५ जना आवेदकले १ करोड ५८ लाख १६ हजार ९० कित्ताको लागि रु १ अर्ब ५८ करोड १६ लाख ९ हजार बराबरको आवेदन दिएका छन् । यो संख्या माग गरिएको आवेदन भन्दा ६.८९ गुणा बढी हो ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।