सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँटः १३ लाख ४६ हजार बढीको हात खाली, ६ जनाले पाए ११ कित्ता शेयर

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँटः १३ लाख ४६ हजार बढीको हात खाली, ६ जनाले पाए ११ कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ आज साउन २४ गते, मंगलबार बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले साउन १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमा, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयर यस दिन बाँडफाँट गरिएको हो ।

विक्री प्रबन्धकका अनुसार सार्वजनिक निष्कासनमा आएको आईपिओ खरीदका लागि १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । स्थानीयको हैसियतले यस अघिनै शेयर पाएका २३१ जनाको आवेदन पनि अस्वीकृत गरेको विक्री प्रबन्धकले जानकारी दिएको छ । 

यी वाहेक योग्य १४ लाख १२ हजार ४६८ जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट गरिएको बाँडफाँटमा सहभागी गराईएको हो । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण गरिएको हो । यस अनुसार ६७ हजार ५८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । जसमध्ये भाग्यमानी ६ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले कम्पनीको शेयर पाएका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिने १३ लाख ४६ हजार ५१४ जना आवेदकको हात भने खाली भएको छ ।

कम्पनीले साउन १३ गतेदेखि  साउन १७ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको सहित कम्पनीले सर्वसाधारणमा कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ वितरण गरेको छ ।