श्वेतगंगा हाइड्रोपावरको आइपीओ बाँडफाँड, २ लाख २७ हजारले १० कित्ता पाउँदा ५ जनाले हात पारे ११ कित्ता शेयर

श्वेतगंगा हाइड्रोपावरको आइपीओ बाँडफाँड, २ लाख २७ हजारले १० कित्ता पाउँदा ५ जनाले हात पारे ११ कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड भएको हो ।

कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

निष्काशन गरिएको कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

सो आइपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन स्वीकृत भएका छन् ।

स्वीकृत आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँड गरिएको हो । सोमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता बाँडफाँट गरिएको छ । अर्थात ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् । यस हिसाबमा आवेदन दिएका १३ लाख १६ हजार ९ सय ४३ जना आवेदक हात खाली भएको छ ।