पछिल्लो दुई दिन उच्च अंकले बढेको नेप्सेमा आज भारी गिरावट, कारोबार रकम पनि घट्यो

पछिल्लो दुई दिन उच्च अंकले बढेको नेप्सेमा आज भारी गिरावट, कारोबार रकम पनि घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट भएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीति पछि दुई दिन शेयर बजारमा निरन्तर वृद्धि भइरहेको थियो । तर, मंगलबार भने उच्च अंकले गिरावट आएको हो ।  

आज नेप्से ४४.८० अंकले घटेर २ हजार ८८ दशमलब १६ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से ५४.४५ अंकले बढेर २ हजार १ सय ३२ दशमलब ९६ विन्दुमा पुगेको थियो ।   

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ३ अर्ब ७० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

मंगलबार कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य ९.३२ प्रतिशतले बढेर प्रतिकित्ता ३३२ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १९ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।