बैंकिङ्ग समाचार, काठमाडौं ।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ । सर्वसाधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारया शेयरका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया