बैकिङ्ग समाचार, काठमाडौं ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात वितरण हुन नसकेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरिएको हो ।
सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । यी वाहेक बाँकी २१ लाख ७६ हजार ९४० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।
यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २१ लाख कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि साउन १ गतेसम्म मात्र आईपीओ विक्री गर्न लागेको हो । शुक्रवार सम्म कम्पनीको आईपीओमा ९ लाख ५० हजार ४४१ जनाबाट १ करोड ८८ लाख ६ हजार ३७० कित्ता शेयर खरीदको लागि आवेदन परेको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाइ दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तीनका शाखा कार्यालयहरूसँगै मेरो शेयरको वेब तथा एपमार्फत पनि यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीमा संस्थापक तर्फ ५२ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ भने पछिल्लो समय आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारणमा ३८ प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ६१ करोड २७ लाख ९३ हजार कायम हुनेछ ।
यस कम्पनीले रुकुम पूर्वी जिल्लामा ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । साउन १ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य सहित आयोजनाको निर्माण कार्य भईरहेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया