काठमाडौं – नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले सञ्चालकहरूको स्वामित्वमा भएको शेयर कम्पनीमा राजीनामा पछि पनि १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क)अनुसार सङ्गठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको सङ्घको भनाइ छ ।
निर्जीवन बीमा व्यवसायीसंघद्धरा जारी विज्ञप्तिमा भनिएको छ, ‘शेयर विक्रीसम्बन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौ । कम्पनीमा कायम रहेका सबै शेयरधनी जस्तै संचालकहरु पनि लगानीकर्ता नै रहेको र शेयरधनीहरुको साधारण सभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा शेयर विक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौ,।’
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका सङ्घका अध्यक्ष राजेन्द्र मल्ल, सहितको पदाधिकारी टोलीले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सो प्रावधान सच्याउनका लागि आग्रह समेत गरेको छ । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य शेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरूको वित्तीय स्वार्थमा कुनै फरक नरहेको सङ्घका अध्यक्ष मल्लले बताए। सञ्चालकहरूले अन्य सेयर धनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरूलाई वञ्चित गर्ने कार्य न्यायोचित नभएको सङ्घले उल्लेख गरेको छ ।
कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए । सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ, ।’ शेयर बिक्री सम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने अध्यक्ष मल्लको भनाइ छ ।
प्रतिक्रिया