पिपुल्स पावरको आईपीओमा साउन ५ गतेसम्म आवेदन दिन सकिने

पिपुल्स पावरको आईपीओमा साउन ५ गतेसम्म आवेदन दिन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पिपुल्स पावर लिमिटेडले निष्काशन गरिरहेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा साउन ५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

असार ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद छिटोमा असार २२ गतेसम्म रहेकोमा सो अवधिमा सबै सेयर खरिदका लागि आवेदन नपरेपछि साउन ५ गतेसम्म म्याद थप गरिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय बासिन्दाहरुका लागि ६ करोड मूल्यको आईपीओ निष्काशन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर जारी गरेको हो ।

जसमध्ये इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर बाँडफाँड गरिनेछ ।
स्थानीय लगानीकर्ताले साउन ५ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यस्तै नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।