योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन नेप्सेको आग्रह

योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन नेप्सेको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन सुचित गरेको छ ।

असार १४ गते मंगलबार एक सूचना प्रकाशित गर्दै नेप्सेले धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन आउन आग्रह गरेको हो ।

बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्तालाई सिलबन्दी बोलकबोल मार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता हुन सूचना मार्फत जानकारी गराइएको छ ।

यसअघि असार २ गते नेप्सेले गोरखापत्रमा सूचना प्रकाशित गर्दै १० दिनभित्र योग्य संस्थागत लगानीकर्तालाई नेप्सेमा दर्ता हुन आउन आग्रह गरिएको थियो । उक्त सूचना बमोजिम बोर्डबाट अनुमति पाएका धेरै संस्थागत लगानीकर्ताहरु दर्ता हुन नआएपछि नेप्सेले पुनः सूचना प्रकाशित गर्दै दर्ता हुन आउने आग्रह गरेको हो ।

बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम सिलबन्दी बोलकबोल मार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि असार १४ गते बुधबारसम्म बोर्डबाट १०६ योग्य संस्थागत लगानीकर्ताले अनुमति पाएका छन् । ती मध्ये ५७ वटा योग्य संस्थागत लगानीकर्ता नेप्सेमा दर्ता भएका छन् । पछिल्लो प्रकाशित सूचनामा संस्थागत लगानीकर्तालाई दर्ता हुने समयसीमा निर्धारण गरिएको छैन ।

नेप्सेमा निवेदन दर्ताका लागि, नेपाल धितोपत्र बोर्डबाट प्राप्त योग्य संस्थागत लगानीकर्ताको स्वीकृतिपत्र, नेप्सेमा दर्ता गर्ने सम्बन्धमा व्यवस्थापनको निर्णय र आवश्यक पर्ने शुल्क नेप्सेको खातामा बुझाएको सक्कल भौचर पनि पेस गर्न नेप्सेले आग्रह गरेको छ ।

बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्तासँग स्वचालित विद्युतीय बोलकबोल (बिडिङ्ग) प्रणालीको युजर आइडि र पासवर्डका लागि निवेदन दस्तुर वापत १० हजार मात्र रुपैयाँ र वार्षिक नविकरण शुल्क पाँच हजार रुपैयाँसम्म लिन सक्ने व्यवस्था छ ।