बैंकिङ्ग समाचार, काठमाडौं ।
लामो समयदेखि निरन्तर ओरोलो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार भने उच्च अंकको वृद्धि भएको छ । लामो समयदेखि बजारमा ठूलो गिरावट हुँदा शेयर लगानीकर्ताहरु आमरण अनसनमा समेत बस्न बाध्य भएका थिए । धितोपत्र बोर्डले अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाई अनसन तोडाउनका लागि दिएका उधारो आश्वासका आधारमा शेयर बजारमा एक्कासी उछाल छ ।
आज नेप्से ९४.९२ अंकले बढेर १ हजार ९ सय ५६ दशमलब ९८ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । यसअघि एक अर्बमा खुम्चिएको कारोबार रकम आज भने २ अर्ब भन्दा बढी भएको छ । आज नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १९५ कम्पनीको शेयरमूल्य बढेको छ । यसमध्ये २१ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ भने ३१ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंकको भएको छ । यस कम्पनीको आज ८ करोड ६४ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया