बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३१.२१ अंकले घटेर १ हजार ८ सय ९३ दशमलब ५३ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३७.४९ अंकले बढेर १ हजार ९ सय २२ दशमलब ३० विन्दुमा पुगेर बन्द भएको थियो ।
आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । आज नेप्सेमा ८४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १ अर्ब २५ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९४ रुपैयाँ पुगेको छ भने ग्लोबल आईएमई समुन्नत स्किम १ को शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार युनाइटेड इदीमर्दी आरबी जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.४८ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया