चार महिनामा जीवन बीमा कम्पनीहरुद्वारा ५३ अर्ब बढीको बीमाशुल्क आर्जन, कुनकाे कति ?

चार महिनामा जीवन बीमा कम्पनीहरुद्वारा ५३ अर्ब बढीको बीमाशुल्क आर्जन, कुनकाे कति ?


काठमाडौं – चालु आर्थिक वर्षको कात्तिकसम्म जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ३९ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीहरुले चार महिनाको अवधिमा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

४ महिनामा १ करोड ३३ लाख ४९ हजार १५७ सक्रिय बीमालेखबाट उक्त बीमाशुल्क आर्जन भएको हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ८ प्रतिशतले बढेको छ।

कुन कम्पनीको कति ?
समीक्षा अवधिमा नेपाल लाइफले १५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १३ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १४.६७ प्रतिशतले बढेको छ।

नेसनल लाइफले समीक्षा अवधिसम्म ६ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २१.६१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब २९ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

लाइफ इन्स्योरेन्स कर्पोरेन्स एलआईसी नेपालले अघिल्लो वर्ष यही अवधिसम्म ५ अर्ब ५६ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ६ अर्ब ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

२०८१ कात्तिकसम्म प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब २८ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रभु महालक्ष्मीको व्यापार १८.५१ प्रतिशत, रिलायबल नेपाल लाइफको २८.५४ प्रतिशत, आइएमई लाइफको १७.८२ प्रतिशत र सन नेपाल लाइफको १३.५८ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको कात्तिकसम्म हिमालयन लाइफले ५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब २५ करोड १३ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब ७४ करोड ३५ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब १९ करोड ६४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले २ अर्ब ५ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा हिमालयन लाइफको व्यापार ४.०५ प्रतिशत, सूर्यज्योति लाइफको १७.७१ प्रतिशत, एसियन लाइफको १६ प्रतिशत, सिटिजन लाइफको २२.९१ प्रतिशत र सानिमा रिलायन्स लाइफको ८.६६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म मेट लाइफले १ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा मेट लाइफको व्यापार ९.३१ प्रतिशतले बढ्दा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ५८ प्रतिशतले घटेको छ।